Ad imageAd image

‘गजल हिट भएपछि दिनचर्या नै खलबलियो’ – Online Khabar

Ad image
Ad imageAd image

काठमाडौं । ‘कर्म गर, तर फलप्रति आशक्ति नराख ।’ यो प्रचलित वाणीको भाव निकै गहिरो छ । यसले कर्मलाई सर्वोच्च मानेको छ ।

यही वाणीसँग मेल खान्छ, संगीत साधक तिलकसिंह पेलाको जीवन पनि । उनी संगीतमा यसरी तल्लीन रहे कि त्यहाँ कुनै नाम, दाम, प्रतिष्ठा र पुरस्कारको मोह थिएन । उनलाई फगत संगीतमा डुब्नु थियो र त्यो महासागरको सयर गर्नुथियो । त्यसैले त उनी चुपचाप संगीतमा मग्न रहे ।

कुशलतापूर्वक गरिएको कर्मले अन्ततः नतिजा राम्रै दिन्छ । भयो पनि त्यस्तै । उनको स्वर र संगीतको गजल ‘के लत बस्यो मलाई कहिले सुधार हुन्छ’ अहिले सबैको मनमनमा बसेको छ । डा. प्रदीपकुमार मैनालीको शब्द र रिदम कँडेलको संगीत संयोजन रहेको गजलका हरेक शेर सामाजिक सञ्जाल टिकटकमा समेत सर्वत्र छाएका छन् । यो गजलको सफलताले यतिबेला तिलकको दिनचर्या नै बदलिदिएको छ ।

अनलाइनखबरको गफ स्टेसनमा गफिने क्रममा तिलकले अहिले आफूलाई मिडियाको कठघरामा उभिने ‘सजाय’ नै मिलिरहेको बताए । उनको संकेत अन्तर्वार्तामा उपस्थित हुनुपर्ने सकसतिर हो ।

‘मेरो त निद्रा नै हराम भइरहेको छ, यताबाट पनि फोन आउँछ उताबाट पनि । संगीत पाठशालामा मेरो गुरुबाट पाएको प्रसाद मेरा शिष्यहरुलाई बाँड्ने मान्छे एक्कासि यसरी अन्तर्वार्तामा व्यस्त हुनुपर्दा त कठघरमा उभिएको जस्तै लाग्छ,’ तिलकले फेरिएको आफ्नो दिनचर्याबारे भने, ‘तर पनि शास्त्रीय संगीतको खोजीमा हिंडिरहेको बेला यो गजललाई समाजले यो हदसम्म स्वीकारिदिंदा खुसी र आनन्द चाहिं मिलेको छ ।’

शास्त्रीय संगीतको लामै साधना गरेका कतिपय गायक-गायिकाले आफ्नो ट्रयाक परिवर्तन गरेको देख्दा उनलाई चाहिं आफू पनि अन्य शैलीका गीत गाएर चर्चा पाऔं भन्ने कहिल्यै लागेन ? गफ स्टेसनमा यो प्रश्न तेर्साउँदा उनले सटिक जवाफ दिए, ‘मैले त १७ वर्षकै उमेरमा आँसु एल्बम बजारमा ल्याइसकेको थिएँ, आधुनिक गीतको । लुकाउन खोज्दा पनि भन्ने गीत केही हदसम्म आफ्नो एरियामा चलेको पनि थियो । तर म सन्तुष्ट हुन सकिनँ ।’

तिलकलाई स्टेज आयो, बाजागाजा आयो, स्याबासी आयो तर संगीत भने आएन रे । गृहजिल्ला बैतडीमै रहँदा दशैं-तिहारको बीचमा हुने रामलीला गीति नाटकले उनलाई शास्त्रीय संगीतको कखरा चिनाउनेसम्म भने बनाइसकेको थियो ।

‘आँसु एल्बम निकालेपछि मैले स्टेज पाएँ, स्याबासी पाएँ, ताली पनि पाएँ होला, तर संगीत पाइनँ । संगीत त गुरुबाट सिक्नुपर्छ भन्ने महसुस भएपछि काठमाडौं आएर गुरुको खोजीमा लागें,’ तिलकले सुनाए ।

गुरुको खोजी गर्दा पनि उनलाई निकै सकस भयो । कतै उनलाई सिकाउन नमान्ने, कतै आफूले भनेजस्तो सिकाउन नसक्ने । कति ठाउँमा त उनी ‘ज्वाइन’ गरेको दुई-तीनमै भाग्थे ।

‘के लत बस्यो’ गजलले नेपाली संगीत क्षेत्रका लागि पनि केही न केही योगदान दिन सक्ला भन्ने तिलकलाई लागेको छ । यसले धेरै गायक-गायिकालाई आफ्नो रोजाइ र शैलीको संगीतमा अघि बढ्न प्रेरणा मिल्न सक्ने उनको विश्वास छ ।

गीत राम्रो भए जरुरी छैन भिडियो

अहिले गीत सुन्नेभन्दा बढी हेर्ने बनेको प्रवृत्तिप्रति तिलकको असन्तुष्टि छ । उनले यो गजलको कुनै कथानक भिडियो बनाएका छैनन् । युट्युबलगायत प्लेटफर्ममा आवश्यक भएकाले स्टुडियोमै खिचेको सामान्य भिडियो राखेका छन् । यो गीत राम्रो भए भिडियो आवश्यक छैन भन्ने गतिलो उदाहरण समेत हो ।

तिलक भन्छन्, ‘भिडियो नबनाउने नै हाम्रो सोच थियो । मैले नै बाबु (रिदम कँडेल)लाई ल खिच भनें । वाद्यवादकहरुले बजाएको उनकै मोबाइलले खिचेको हो । कहींकहीं मेरो लिपसिंकमा भने साधारण क्यामरा प्रयोग गरेका छौं ।’

उनको यसमा गज्जबको तर्क छ, ‘एउटा म्युजिक भिडियोले गीतका लाखौं काल्पनिक भिडियोलाई मार्छ । लाखौं मनका भिजुअललाई एउटामा सीमित गराइदिन्छ ।’

अहिलेका गीत-संगीत चाहिं कस्तो लाग्छ त तिलकलाई ? भन्छन्, ‘आफ्नो ठाउँमा राम्रो छन् । तर पहिलेको जस्तो मेलोडी चाहिं हराएको हो कि भन्ने लाग्छ । लोकगीत पनि आउनुपर्छ, आधुनिक, पप सबै शैलीका गीत आउनुपर्छ तर मेलोडी चाहिं मार्नुभएन ।’

‘के लत बस्यो’ पछि गजल गायनमा सक्रियताबारे पनि उनले केही कुरा खोले । दर्शक-श्रोतालाई आफ्नो तर्फबाट सांगीतिक उपहार दिने र संख्या मात्रै बढाउने हिसाबले भने नल्याउने उनले सुनाए ।

‘प्रतिस्पर्धाको बाटोमा लाग्ने सोच आउँदैन । कुनै गीत, गजल राम्रो लाग्यो र रेकर्ड गराइयो भने मलाई मन पर्‍यो तपाईंहरुलाई पनि मन पर्छ होला मेरो उपहार भनेर दिने हो । अरु त्यस्तो छैन ।’

गजलकार डा. प्रदीपकुमार मैनाली र एरेन्जर रिदम कँडेलसँग तिलकसिंह पेला

शिष्यलाई अभ्यास गराउँदाको आनन्द

कुनै शब्दमा केही समयदेखि खलबलिएको आफ्नो दिनचर्या अब लयमा फर्काउने सोचमा तिलक छन् । मतलब २०६१ सालमा काठमाडौंको वनस्थलीमा उनले स्थापना गरेको श्रीकृष्ण गुरुकुल संगीत पाठशालामा शिष्यहरुलाई संगीत सिकाउनुमा नै उनी रमाउँछन् ।

आफूले खाएको ठक्कर नयाँ पिंढीले भोग्नु नपरोस् भनेर खोलेको उनको संगीत पाठशालामा आफूलाई गुरुले दिएको प्रसाद शिष्यहरुलाई बाँड्न पाउँदा आनन्द लाग्ने उनी सुनाउँछन् ।

‘मैले संगीत सिक्ने क्रममा जति हण्डर र ठक्कर खाएँ त्यो कुरा मेरो शिष्यहरुले भोग्नु नपरोस् र मैले नपाएका कुरा उनीहरुलाई सिकाउन पाऊँ भन्ने उद्देश्यले स्थापना गरेको हुँ । मैले धेरै ठाउँ चहार्दाचहार्दै बल्ल सही ठाउँमा पुगेको थिएँ नि, अब चाहिं अरु कसैले त्यस्तो भोग्नु नपरोस् भन्ने मेरो सोच थियो,’ संगीत पाठशालाबारे तिलक सुनाउँछन् ।

प्रेरणा बनेको गजल

‘के लत बस्यो’ गजलले नेपाली संगीत क्षेत्रका लागि पनि केही न केही योगदान दिन सक्ला भन्ने तिलकलाई लागेको छ । यसले धेरै गायक-गायिकालाई आफ्नो रोजाइ र शैलीको संगीतमा अघि बढ्न प्रेरणा मिल्न सक्ने उनको विश्वास छ ।

‘यो गजल आएदेखि धेरै अग्रजका फोन आए । नैराश्यता आइसकेको थियो, सांगीतिक क्षेत्रमा । गजल पनि आउन छाडेको थियो, स्तरीय संगीत पनि आउन छाडेको थियो भनेर भन्नुभयो,’ तिलक सुनाउँछन्, ‘कति चर्चित गायक-गायिका त अर्कै शैलीका गीत गाउने सोचमा पुगेका थियौं । अब तपाईंको गजल-गीतले हामीलाई पनि रुचिकै शैलीमा लाग्ने प्रेरणा दियो भन्नुभएको छ । लाग्छ केही न केही त परिवर्तन भएछ ।’

गफ स्टेसनमा बिट मार्ने बेला उनले गायक-गायिकाले गीतकार, संगीतकार र अन्य संगीतकर्मीलाई नसम्झिने प्रवृत्तिको आलोचना गरे ।

‘धेरै गायक-गायिकामा स्टेजमा गीत गाउनेबेला गीतकार र संगीतकारको नामसमेत उच्चारण नगर्ने प्रवृत्ति देखिएको छ । सबैको भावना, महत्व र योगदान बुझ्न जरुरी छ,’ गजलकार डा. मैनालीको नाम प्रत्येक पटक लिइरहेका तिलकले भने, ‘बीउ त गीतकार गजलकारले छरेको हो नि, गीतकारको भावनामा जरा छ । शब्दबाट बीउ छरिएको छ । फूललाई पातलाई, फललाई हेछौं, तर जरा हेर्दैनौं । यो जरुरी छ ।’

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

गायक तथा संगीतकार तिलकसिंह पेलासँग गरिएको भिडियो अन्तर्वार्ता



Share This Article
Ad imageAd image
Ad imageAd image