काठमाडौं । गारिदा फारूकी अन्तर्वार्तामा बस्नुपूर्व नै आफ्नो तयारी गरिसक्छिन्। उनको पहिरन जति चिटिक्क हुन्छ प्रश्न पनि त्यतिकै चोटिला हुन्छन्।
उनलाई निगरानीमा राख्ने एउटा भीड छ, जसले उनको हाउभाउ र पहिरनको भद्दा मजाक उडाउँछ। उनीहरू फारूकीलाई अनलाइनमार्फत दुर्व्यवहार गर्छन्।
‘मेरा पुरूष सहकर्मीहरू पनि दुर्व्यवहारमा पर्छन् तर उनीहरूको राजनीतिक विचार फरक रहेमा मात्रै ती समूहले दुर्व्यवहार गर्नेहुन्। महिलाको सवालमा भने हाम्रो पहिरन, हाउभाउ र संवेदनशील अंगलाई लिएर उनीहरूले दुर्व्यवहार गर्छन्’, फारूकी भन्छिन्।
पाकिस्तानको राष्ट्रिय सञ्चारमाध्यमबाट राजनीति र राष्ट्रिय सवालका समाचार निर्माण तथा प्रस्तोताको काम गरिरहेकी फारूकीको यो अनुभव विश्वभर महिला पत्रकारहरूमाथि हुने दुर्व्यवहारको एउटा नमूना मात्रै हो। विश्वभर हजारौं महिला पत्रकारले यस्ता समस्या व्यहोरेका छन्। कतिपय अवस्थामा उनीहरू प्रेस छोड्न समेत बाध्य भएका छन्।
महिला पत्रकारहरूमाथि भएका यस्ता घटनाबारे समाचार नआएका होइनन्। तर त्यसले प्रभाव नै नपारेको झैं स्थिति छ। बढ्दै गएका यस्ता दुर्व्यवहार हेर्दा यस्तो लाग्छ, ती विषयमा समाचार नै बनेका वा बहस नै भएका छैनन्। पत्रकारिता जुन देश वा महादेशमा छ ती सबैमा महिला पत्रकारहरू असुरक्षित झैं छन्।
प्रविधिको दुरुपयोग गर्दै उनका अश्लील तस्बिरहरू पनि सार्वजनिक गरिए। केहीले पुरूषको यौनाङ्ग राखिदिएर फारूकीका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिदिए। यौनसम्पर्कका तस्बिर पोस्ट गरे। यस्ता दुर्व्यवहार भोगिरहेकी प्रतिनिधि पात्र मात्रै हुन्, फारूकी। विश्वभरका महिला पत्रकारहरूले कहीं न कहीं फारूकीको झैं समस्या व्यहोरिरहेका छन्।
राष्ट्रसंघीय निकाय युनेस्को र पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था आईसीएफजेले संयुक्त सर्वेक्षण गरेका थिए। सन् २०२१ मा २१५ मुलुकका ७१५ महिला पत्रकारहरूमाझ गरिएको थियो। उक्त सर्वेक्षणले प्रत्येक ४ जनामध्ये ३ जनाले कार्यस्थलमा दुर्व्यवहारका साथै अनलाइनबाट दुर्व्यवहार व्यहोरेको बताएका थिए। यता प्रत्येक १० मध्ये ४ जनाले दुर्व्यवहारकै कारण आफ्नो पेशागत जिम्मेवारी पालना गर्न नसकिएको बताएका थिए। उनीहरूले प्राइमटाइम प्रस्तोताको अवसर नपाएको देखि कतिपय मुख्य समाचारहरूमा क्षमताका बावजुद लेख्ने अवसर नदिएको बताएका थिए।
सर्वेक्षणको प्रतिवेदनले महिला पत्रकारहरूलाई लक्षित गर्दै हुने यस्ता दुर्व्यवहारले अन्तर्राष्ट्रिय तवरमै प्रेस स्वतन्त्रतालाई चुनौती दिएको उल्लेख गरेको छ। घटनामा संलग्नलाई कारबाही नहुँदा दण्डहीनताको प्रोत्साहन भएको लेखिएको छ। ‘यस्ता गतिविधि महिलाहरूको अपमानका लागि हुने गरेका छन्। यसले महिला पत्रकारहरूलाई मानसिक रूपमा समस्यामा मात्रै पारेको छैन पत्रकारितालाई आवाजविहीनहरूको आवाज बन्न चुनौती खडा गरिरहेको छ’, प्रतिवेदनमा उल्लेख छ।
कतिपय राष्ट्रमा महिला पत्रकारहरूले नै सरकारका अनियमितता, भ्रष्टाचार र धर्मगुरुहरूका कर्तुतमाथि अनुसन्धान गरेर समाचार तयार गरेका छन्। तिनै पात्रहरू अनलाइन दुर्व्यवहारको शिकार भइरहेका छन्। चरमपन्थी समूहले उनीहरूलाई कमजोर बनाएर आफू बलियो बन्ने मनसायले महिला पत्रकारहरूमाथि दुर्व्यवहार गरिरहेछन्।
साभार अनलाइनखबर