सल्यान ।
कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा कुकुरको टोकाइबाट दुई बालक सहित चार जना घाइते भएका छन् । मंगलवार कपुरकोट तल्लो बजार निवासी उत्तम खड्काको ६ वर्षीय छोरा सुरज खड्का कुकुरको टोकाइबाट गम्भीर घाइते भए । उनी घाइृते भएपछि उपचारका लागि काठमाडौँ लगिएको छ ।
कुकुरको टोकाईबाट ४ जना घाईते भए पनि गाउँपालिकाले भने यसमा चासो नदिएको स्थानियबासीले बताएका छन् । स्थानीय रुद्रवीर कँवरका अनुसार सोमबार र मंगलबार गरेर कपुरकोटमा कुकुरले २२ वर्षीय दिपा भण्डारी, दुई बालक र एक पुरुषलाई टोकेको थियो ।
कुकुरले एक किसानको बाख्रालाई समेत टोकेको बताइृएको छ । कुकुरले मानिसलाई टोकेको सुन्नमा आएको र यसबारे विवरण सङ्कलनको कार्य भइरहेको प्रहरी चौकी कपुरकोटले जनाएको छ । यता गाउँपालिकाका योजना शाखा प्रमुख खगेन्द्र बहादुर शाहीले कुकुरलाई रेबिज विरुद्धको खोप दिने र भुस्याहा कुकुर व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा कुनै पनि बजेट तथा योजना नरहेको जानकारी दिए । सडकका कुकुरको समयमै व्यवस्थापन र नियन्त्रण हुन नसक्ने हो भने रेबिज फैलन सक्ने स्थानीयवासीको चिन्ता छ ।