काठमाण्डाै – बुधवार राति ग्यास विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रस नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतकाे मुम्बई लगिएको छ ।
भण्डारीलाई श्री एअरलाइन्सको विमानमार्फत भारतको मुम्बईमा रहेकाे नेशनल स्किन बर्न सेन्टरमा थप उपचारका लागि लगिएको हाे । उहाँको नेपालमा यथोचित उपचार सम्भव नभएपछि चिकित्सकको टोलीसहित त्यसतर्फ लगिएको हो ।
नेता भण्डारीको यसअघि कीर्तिपुरकाे कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले उपलब्ध साधन र स्रोतबाट उहाँको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो ।
निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । सांसद भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।
साभार Ujyaalo Online