पाेखरा महानगर पालिका भित्र पर्ने फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएको संरचनाहरु पोखरा महानगरपालिकाले भत्काएकाे छ । पोखरा महानगरपालिका वडा नं.४ र १८ फिर्के खोलाको दुवै भागमा निर्माण गरिएको संरचनामा महानगरपालिले भत्काएकाे हाे ।
निर्माणको क्रममा फिर्के खोलाको वाहवलाई असर पर्ने गरी संरचना निर्माण नगर्न पटक पटक आग्रह सहित निर्माण सामाग्रीहरू समेत जफत गर्दा पनि अटेर गरेपछि महानगरपालिकाले डोजर चलाएको महानगर प्रमुख धनराज आचार्यले बताउनु भयाे । सो क्षेत्रमा खोलाको मापदण्ड विपरीत ग्याविन तार सहितको रिटेनिङ्वाल निर्माण गरि खाेलाकाे मापदण्ड मिचेर संरचना बनाईएकाे थियाे ।
सगरमाथा स्कुल र केही स्थानीयहरूले खोलाको मापदण्ड विपरीत संरचनाहरू निर्माण गरेपछि महानगरले त्यसलाई रोक्न समेत आग्रह गरेको थियो । फिर्के खोलाको मापदण्ड विपरीत निर्माण भएका सम्पूर्ण संरचनाहरू महानगरपालिकाले हटाउने योजना समेत बनाइरहेको छ।
महानगरपालिकाले पर्यटन गुरुयोजना निर्माण गरी फिर्के कोरिडोरको रूपमा विकास गर्न खोला आसपासका झाडी फडानी र सरसफाइ काे काम गरिरहेकाे छ । फिर्के खाेला अंधेरी कुनावाट सुरु भई प्रस्याङ ,मालेपाटन बुलाैदि हुदै फेवातालमा गएर मिसिन्छ ।