१२ माघ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवारबारे पार्टीभित्र छलफल खुला गरेको छ । गत ९ माघमा आफ्नै निवास, धुम्बाराहीमा सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक राखेर राष्ट्रपति पदको उम्मेदवारबारे छलफल खुला गरेका हुन् ।
जसरी पनि राष्ट्रपति पद लिनुपर्ने तर्क गर्दै देउवाले त्यसदिन सम्भावित उम्मेदवारका रुपमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम लिएका थिए । त्यो बैठकपछि सिटौलाले पार्टीभित्र र बाहिर दौडधुप बढाएको कांग्रेस नेताहरू बताउँछन् ।
पौडेल पनि दलहरुबीच राष्ट्रिय सहमति जुट्नुपर्ने वकालतसहित राष्ट्रपति बन्ने दौडमै छन् । ४ मंसिरको आमचुनाव अघि नै पौडेलले राष्ट्रपति पदमा दावी गरेका थिए । त्यसबेला कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन भएकाले पौडेलको आकांक्षालाई चासोका साथ हेरिएको थियो ।
किनकि तीनै तहको चुनावमा साझेदारी गरेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति दावी नगर्ने प्रष्ट संकेत दिएको थियो । तर चुनाव सकिएपछि गठबन्धन फेर्दै नेकपा एमालेको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए । एमाले गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री हुँदा कांग्रेस भने सबैतिर अल्पमतमा परेको छ ।
तर संसदीय अल्पमतका कारणले नजित्ने पक्का रहेको राष्ट्रपति पदको उम्मेदवार बन्न पौडेल र सिटौलाले गरेको दावीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जबकी प्रचण्ड प्रधानमन्त्री बनेको राजनीतिक समीकरणमा कांग्रेस नभएर राष्ट्रिय राजनीतिको मुख्य चासो एमालेमा केन्द्रीत हुनुपर्ने हो । अझ राष्ट्रपतिको उम्मेदवारबारे हुने निर्णयमा एमालेको निर्णय महत्वपूर्ण बन्नुपर्ने हो ।
किनकि १० पुसमा प्रचण्ड प्रधानमन्त्री बन्ने निर्णय हुँदा नै राष्ट्रपति पद एमालेले पाउने सहमति जुटेको छ । त्यसैले सत्ता साझेदार दलहरू इमान्दार रहँदासम्म एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने लगभग पक्का जस्तै छ । सत्तारुढकै सहमतिअनुसार, १६७ मत पाएर सभामुखमा एमालेका देवराज घिमिरे र उपसभामुखमा १६५ मत पाएर राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का इन्दिरा रानामगर निर्वाचित भइसकेकाले पनि राष्ट्रपतिबारे अन्य दलबाट हुने उम्मेदवारको ठूलो अर्थ छैन ।
तर कांग्रेस नेताहरुले आन्तरिक छलफलसँगै सार्वजनिक रुपमै राष्ट्रपति पद आफूले पाउने बताइरहेका छन् । सभामुखको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेकी ईश्वरी न्यौपानेको प्रस्तावक बसेका पार्टी महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपतिमा आफ्नो उम्मेदवारले जित्ने बताएका थिए । त्यसअघि डा.शेखर कोइरालाले विराटनगर पुगेर राष्ट्रपति पदलाई हेरेरै प्रचण्डलाई विश्वासको मत दिएको बताएका थिए ।
शर्मा र कोइराला जसरी सार्वजनिक टिप्पणी नगरेपनि सभापति देउवाले पार्टी बैठकमा आफ्नै उम्मेदवार राष्ट्रपति हुने बताउने गरेको कांग्रेस नेताहरु बताउँछन् । संसदीय समीकरण सत्ता साझेदारहरुकै पक्षमा भएपनि कांग्रेस नेताहरुले राष्ट्रपति पाउने विश्वास देखाउनुमा भने २६ पुसमा प्रचण्डलाई दिएको विश्वासको मत कारण हो ।
विश्वासको मत पाएको एक सातापछि, ३ माघमा प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखबारे छलफल गर्न सर्वदलीय बैठक राखेकाले पनि कांग्रेस नेताहरुको त्यस्ताो विश्वास कायम रहेको रहेको हुनसक्छ । आफ्नै माग अनुसार, प्रचण्डले सर्वदलीय बैठक बोलाएको कांग्रेस नेतृत्वको बुझाइ छ ।
प्रचण्ड ओलीसँग निरन्तर सम्वादमा छन्, तर सँगै राष्ट्रिय सहमति भन्न छोडेका छैनन् । अर्कातिर डा.बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादीसँग एकताको पहल अगाडि बढाएका छन् । जनता समाजवादी पार्टी (जसपा) सँग कार्यगत एकताका निम्ति कार्यदलमार्फत काम गरिरहेका छन् ।
यसबाहेक प्रधानमन्त्री प्रचण्डको सार्वजनिक टिप्पणीमा अलमल देखिनुले पनि भावी राष्ट्रपति कुन दलबाट हुन्दैछ भन्ने प्रष्ट हुन सकेको छैन । ३ माघमा बसेको कांग्रेस सहितको बैठकबाट बाहिरिने क्रममा समेत प्रचण्डले आफू राष्ट्रिय सहमतिको सहजकर्ता बन्ने बताएका थिए । जबकी एमाले अध्यक्ष केपी शर्मा ओली भने भावी राष्ट्रपतिबारे मात्रै नभएर राजनीतिक कोर्समा पनि प्रष्ट सन्देश दिन खोजिरहेका छन् ।
२६ पुसमा रोष्ट्रमबाटै ओलीले विश्वासको मतको बदला कांग्रेसले कुनैपनि पदमा भागबण्डा नपाउने संकेत दिएका थिए । यो समीकरण पाँच वर्षै टिक्ने निष्कर्षसहित ओली सरकारको बचाऊमा लगातार सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । राष्ट्रपति निर्वाचनमा एमालेको उम्मेदवारलाई कांग्रेसले समर्थन गरेमा राष्ट्रिय सहमति जुट्ने ओलीको प्रष्ट अडान छ ।
‘राष्ट्रपतिबारे सत्ता साझेदार दलहरुबीच सहमति जुटिसकेकै छ । एमालेकै उम्मेदवार राष्ट्रपति हुनेछन्’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भन्छन् । माओवादी केन्द्रका नेताहरुले पनि सत्तारुढबाट एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने सार्वजनिक टिप्पणी गरिरहेका छन् ।
प्रचण्डले देखेको अवसर
एमालेका एक पदाधिकारीका अनुसार, सार्वजनिक रुपमा राष्ट्रिय सहमति भनिरहेका प्रचण्डले ओलीसँगको भेटवार्तामा पनि सत्तारुढमा भएको सहमति नतोडिने बताउने गरेका छन् । ‘प्रचण्डले सहमतिमै अगाडि बढ्न तयार छु भन्ने गर्नुभएको छ’, ती पदाधिकारी भन्छन् । तर सार्वजनिक रुपमा एमाले उम्मेदवार राष्ट्रपति बन्छन् भन्न नसकेकोमा ती पदाधिकारी पनि शंका गर्छन् ।
‘प्रधानमन्त्रीले किन सहमतिबारे बोल्न सक्नु भइरहेको छैन, यसले केही आशंका त सिर्जना गरेकै छ’, उनी भन्छन् । हुनपनि प्रधानमन्त्री प्रचण्डको बक्तव्य र गतिविधि प्रष्ट नहुँदा एमालेभित्र राष्ट्रपति पदका आकांक्षी नेताहरुबारे उति धेरै छलफल हुन सकिरहेको देखिदैन । जबकी एमाले वृत्तमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य र सुवास नेम्वाङ, उपमहासचिव विष्णु रिमाल, नेताहरु गुरु बरालदेखि डोरमणि पौडेललाई समेत सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।
तर यी नेताहरु जत्तिकै प्रचार पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, लोकतान्त्रिक समाजवादी पार्टी -लोसपा)का अध्यक्ष महन्थ ठाकुर लगायतको नाममा समेत छलफल भइरहेको छ । केही समय अगाडि त राजनीतिक पार्टी बाहिरबाट राष्ट्रपतिको खोजी भइरहेको चर्चा समेत चलेको थियो । एक नेता, प्रधानमन्त्री प्रचण्ड प्रष्ट नहुँदा यस्ता आशंका र गतिविधिले ठाउँ पाएको बताउँछन् ।
प्रचण्डले प्रष्ट निर्णय नलिनुमा चाहिं प्रतिनिधिसभाको असाधरण विश्वासको मत पाएपछि बनेको राजनीतिक बातावरण रहेको ती नेता बताउँछन् । प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससहित प्रतिनिधिसभाका दुई दल (नेमकिपा र जनमोर्चा) बाहेक सबै दल र स्वतन्त्र गरी २६८ सांसदले विश्वासको मत दिएका थिए । जबकी ९ पुससम्म आलोपालो प्रधानमन्त्रीमा पहिलो कार्यकाल छोड्न समेत कांग्रेस तयार थिएन । प्रचण्डले गठबन्धन नै बदल्दा प्रतिनिधिसभाको सवैभन्दा ठूलो दल भएर पनि कांग्रेस विपक्षी बेञ्चमा धकेलियो ।
अकस्मात विकसित नयाँ राजनीतिक समीकरणबाट पुगेको क्षति न्यूनिकरण गर्न कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर बदलामा राष्ट्रपतिमा समर्थन माग्ने र आवश्यक पर्दा सत्तासम्म पुग्ने नीति लियो । उच्च स्रोतका अनुसार, कांग्रेसमा देखिएको यस्तो सत्ता मोहमाथि टेकेर प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री बन्ने चाहनामा देखिएका छन् ।
‘अहिले प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री सुनिश्चित गर्ने चाहनामा देखिन्छन् । त्यस्तो नहुँदो त सरकार चलाउन आवश्यक बहुमतका निम्ति कांग्रेस मनाइनरहन जरुरी नै होइन’, ती स्रोत भन्छन् । एमालेसँग प्रचण्डले आलोपालो प्रधानमन्त्रीको सहमति गरेका छन् । ५ माघमा सभामुख निर्वाचित देवराज घिमिरेको पद प्रधानमन्त्रीसँग आलोपालोमा सकिनेछ ।
तर जसरी पनि राष्ट्रपति लिने कांग्रेस नेतृत्वको चाहनाले प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्रीको अवसर बन्न अनुकुल समीकरण हुने आधार समेत तयार भएको देखिन्छ । माओवादी केन्द्रका कतिपय नेता, राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेकै अवस्थामा पनि सरकारबाट एमाले नबाहिरिने तर्क गर्छन् । ‘एमालेसँग बिकल्प के छ त ? यो गठबन्धन भत्कनु भनेको फेरि १० पुसकै अवस्थामा पुग्नु हो’, एक नेता भन्छन् ।
ती स्रोतका अनुसार, प्रचण्ड एमालेसँगै पाँच वर्ष प्रधानमन्त्री बन्ने बिकल्प खुला राख्न चाहन्छन् । कांग्रेससँगको सहकार्यले राम्रो चुनावी नतिजा यसपटक पनि नआएकाले पनि प्रचण्डको रोजाइ एमाले नै हो ।
यसबाहेक ओलीबाट विगतमा पाएको धोकाका कारणले पनि प्रचण्ड राष्ट्रपतिको चुनाव अगाडि नै पाँचै वर्ष प्रधानमन्त्रीको सुनिश्चितता गर्न खोजिरहेका छन् । सभामुख र राष्ट्रपति समेत लिइसकेपछि ओलीले धोका दिए फेरि शक्तिहीन अवस्थामा पुगिने भयले पनि प्रचण्ड एमालेसँग थप सुनिश्चितता खोजिरहेका छन् । संवैधानिक निकायमा ओलीले सिफारिस र नियुक्त गरेका ५२ जनाको पद जोगिने, रवि लामिछानेले लिएको उपसभामुख र गृहमन्त्रीको साथ पाउने अनि राष्ट्रपति समेत ओली अनुकुल हुँदा प्रचण्डले आफूलाई असुरक्षित असुरक्षित महशुस गरेको अनुमान लगाउन सकिन्छ ।
त्यसैले प्रचण्ड ओलीसँग निरन्तर सम्वादमा छन्, तर सँगै राष्ट्रिय सहमति भन्न छोडेका छैनन् । अर्कातिर डा.बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादीसँग एकताको पहल अगाडि बढाएका छन् । जनता समाजवादी पार्टी (जसपा) सँग कार्यगत एकताका निम्ति कार्यदलमार्फत काम गरिरहेका छन् । एकीकृत समाजवादीका एक पदाधिकारी, प्रचण्डले एकता र कार्यगत एकताको पहल भइरहेका एकीकृत समाजवादी र बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीसँग त राष्ट्रपतिको उम्मेदवारकै संकेत समेत दिने गरेका छन् ।
एमाले प्रचार विभाग उपप्रमुख रिजाल भने अहिले जुटेको सहमतिमा थप पुनरावलोकन गरेर भएपनि सत्ता गठबन्धन जोगिने बताउँछन् । ‘अहिले केपी ओली र प्रचण्ड कमरेड एकअर्कामा लचिलो बन्नुपर्छ भन्ने बुझाइमा देखिनु हुन्छ’ रिजाल भन्छन्, ‘पहिले विश्वासको संकटकै कारणले बिग्रिएको सम्बन्ध विश्वासकै वातावरण बनाएर जोड्नेतिर लाग्नु भएको छ ।’